स्मृतिमा- हजुरआमा ।

 

स्मृतिमा- हजुरआमा ।

    भुवन ज्ञवाली

    जीवनमा परेको पहिलो प्रभाव नै अन्तिम प्रभाव हो भनेझैं मेरो बाल्यमस्तिष्कमा उहाँले छोडेको छापले बाँचुञ्जेल पछयाइरहने छ। कारण हो उहाँको बालबालिकामैत्री मानसिकता।हजुरआमा मेरो बाल्यकालकी आदरणीय पात्र। सम्झना र झझल्कोमा आइरहने प्रिय आकृति। मेरो बाल्यकालको अमूल्य किस्साकी हिस्सेदार। मेरो श्रद्धाकी प्रतिमूर्ति।  

    पाल्पाको साविक भुवनपोखरी गाबिस-3, अर्सौदि मेरो जन्मस्थान। हाल रैनादेवीछहरा गाउँपालिका भएको छ।  मेरो हजुरआमा। हामी बाल्यकालको मिठो भोक र उहाले दिएको खाने चाहना। म आएको देखेर उहाँ एकदम खुसी बन्नुहुन्थ्यो। खाजा अघि नै भाग लगाइदिनुभएको हुन्थ्यो। भोक मिठो कि भोजन भनेजस्तै म चौरासी व्यञ्जनझै उहाले दिएको खानेकुरा खान्थे।दशै, तिहार, श्राद्ध, औंसी पूर्णिमा पूजाआजामा हामी उहाको लागि निम्तालु हुन्थ्यौं। हजुर आमाको खुसी हाम्रो वरिपरि थियो।

    हजुरआ मा नातानानितीले सुरक्षित मात्र महसुष गर्दैनन्, न्यानोपन पनि अनुभूत गर्छन् । हजुरआमा अनुभवी  परिपक्क हातको स्पर्शले मात्र पनि उनीहरु परम आनन्द लिन सक्छन् । हजुरआमासँग आफ्ना लालाबाला हुर्काएको अनुभव हुन्छ । बालबच्चालाई कसरी स्यहार्ने, कसरी ख्वाउने, कसरी खुसी बनाउने, कसरी फकाई-फुल्याई गर्ने, कसरी निरोगी एवं बलियो बनाउने ? यावत कुराको खास अनुभव हुन्छ । हजुरआमासँग । हजुरआमाको काखमा लुटपुटिदै हुर्कन पाउँदा नातीनानितीहरु पनि निकै फुरुंग हुन्छ । किनभने हजुरआमासँग त्यस्ता अनुभव हुन्छ, जसले भान्सामा उपलब्ध सामाग्रीबाट औषधी बनाउन सक्छिन । उनीहरुमा कतिसम्म परिपक्क अनुभव हुन्छ भने बालबालिकाको लक्षण हेरेर कुन समस्या छ र त्यसलाई कसरी निको बनाउने भनेर उचित घरेलु औषधी तयार गर्न सक्छन ।

    त्यसो त हजुरआमा  आफैमा खुला विश्वविद्यालय हुन् । उनीहरुसँग अथाह ज्ञान भण्डार हुन्छ । त्यो पनि व्यवहारिक र जीवनोपयोगी ज्ञान । आफ्नो जमनामा भोगेका, देखेका, बुझेका, सुनेका कुराहरुबाट उनीहरुले धेरै कुरा सिकेका हुन्छन । त्यही कुरा आफ्ना नाती-नातिनीलाई बाढ्न सक्छन। यस्तो ज्ञान हामीले अन्यत्र पुस्तकमा खोजेर पनि पाइदैन ।हजुरआमा लागि पनि नाती-नातिनीसँग खेल्न पाउनु आफैमा रोमाञ्चक क्षण हो । नाती-नातिनीसगँ खेलिरहँदा, कुरा गरिरहँदा उनीहरुले आफ्नो बुढ्यौली बिर्सन्छन् । उनीहरु बालापनमा र्फकन्छन् । नाती-नानितीसँग खेल्दा खेल्दै उनीहरुले आफ्नो पीडा, व्यथा भुल्छन् ।नाती नातिनी  र हजुरआमा एकसाथ रहँदा दुबै एक्लोपनबाट मुक्त हुन्छन । एकअर्काको साथी पाउँछन । दुबै रमाउँछन। खुसी हुन्छन् । न असुरक्षाको भय हुन्छ न एक्लोपनको दिक्दारी । नाती-नातिनीमा हजुरआमा  आफ्नो भविष्य खोज्छन । आफ्नो भविष्य देख्छन ।

    जीवनप्रति उहाँको आशावादी स्वभाव थियो। वर्षायामको बेला म गनगनाउँथे, हजुरआमा आकाश बादलले ढाकिएको छ। पानी पर्छ होला।घाम लाग्दैन होला अब।चाउरिएको मुहारमा मुस्कुराहट छरेर उहाँ मेरो निराशालाई लखेट्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘पानी पर्छ र त घाम लाग्छ। घाम र पानी एक अर्काका जीवनसाथी हुन। हामीलाई यी दुवैको आवश्यकता छ।म पुलकित हुन्थे त्यो आदर्शवादी जवाफले।  ती निरक्षर महिलाको गहन चेतनामा घोत्लिइरहन्थे।

    मेरो घर नजिकै पधेरो थियो। हामी केटाकेटीले त्यसलाई खेलमैदान बनाएका थियौं। चारी, भकुणडो , घुना, गुच्छा , डण्डिवियो जस्ता खेलहरु खेल्थ्यौं। म हजुरआमालाई बोलाउँथें।उहाँ आँगनमा निस्किएर बोलाउनुहुन्थ्यो, बावु खाजा खान आइज है।साथीहरू पनि लिएर आउनू। म सबैलाई घर पुर्याउँथें।खाजा खान्थ्यौ हामी। तर, उहाँ रिसाउनुहुन्नथ्यो। बरु हामी केटाकेटीसँगै मुस्कुराउनुहुन्थ्यो। आँखामा हाल्दा पनि नबिझाउने मान्छे ।माया र दयाकी खानी ।

    हजुरआमाको फूलबारीमा नानाथरीका फूल फुल्थे। आफू जवान उमेरमा प्रवेश गरेपछि मैले ती फूललाई थुप्रै प्रेम कविताको पात्र बनाए। मेरो बाल्यकालको धेरै समय बित्यो त्यो घरमा, त्यो फूलबारीमा।हजुरआमासँगको भलाकुसारीमा। मेरो सिर्जनशील जीवनको अलिकति चुहावट त्यही ठाउँबाट भएको थियो।

    उहाँले साँधेर खुवाएको कोइरालको स्वाद अझ पनि जिभ्रोमा झुण्डिइरहेको छ। उहाँको हात मिठो। साथ मिठो र सबैभन्दा त प्यार मिठो। पीडामाथि पीडा थपियो। मेरो जीवनमा दर्शनको प्रवेश गराउने मेरी प्रिय मान्छेसँग अब कहिल्यै भेट नहुने सम्झिएर उदास भएँ।90औ बसन्त पार गर्दा नगर्दै हजुर स्वर्गारोहण हुनुभयो । जीवनमा सबै इच्छा कहाँ पूरा हुँदारहेछन् र? नियास्रोको खेलकुद रहेछ जिन्दगी। स्मृतिपटलमा मायालु मान्छेको ओहोरदोहोर।भजन गाउन हजुर आमा माहिर हुनुहुन्थ्यो । मन अतितको स्मृतिमा लुकामारी खेलिरहन्छ। जीवनमा महत्त्वपूर्ण मान्छे गुमाएको पीडाले सताइरहन्छ। ती मायालु मान्छेलाई म सधै मिस गरिरहन्छु। स्मृतिको अन्तर कुन्तरमा पीडा जमेर बसेझैं भान हुन्छ।

    उहाँको वृद्ध अनुहारको सम्झनाले मर्माहत बनाउँछ। कुनै कुनै व्यक्ति स्वर्गारोहण भए पनि कसैको जीवनको मर्मसम्म छोएर जाँदारहेछन। अविष्मरणिय आत्मसंस्मरण बन्दा रहेछन। हजुरआमाको भौतिक शरीरसँग अब मेरो कहिल्यै भेट नभए पनि उहाँको वात्सल्यले सधैं यो जीवनलाई हराभरा बनाइरहने छ। यही स्वच्छ सम्झना उहाँको लागि साँचो श्रद्धाञ्जली हुने छ। त्यो महान आत्माले चिर शान्ति पाओस। म यही कामना गर्छु।

 

Comments

Popular posts from this blog

जेन्जी

म त म नै हो ।

सोचे जस्तो हुन्न जीवन !!!!